हात्तीले अन्नबाली नष्ट पार्दा स्थानीयहरु मारमा

काठमाडौं । असोज १७, शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जङ्गली हात्तीको बथान भगाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन । पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पु¥याउन थालेपछि उनीहरु चिन्तित भएका हुन् ।
ट्र्याक्टरको ठूलो आवाज निकालेर, आगो बालेर, पटाका पड्काएर, तथा होहल्ला गरेर हात्तीको बथान भगाउँदै आएको नगरपालिकाको वडा नं ८ का अध्यक्ष बहादुरसिंह महराले बताए ।
हात्तीकै डरले धेरै किसानले पाक्न नपाउँदै धान बाली काटेर चुट्ने कार्यसमेत गरेका छन् । हात्तीको बथान विगत सात वर्षदेखि निरन्तररूपमा यस क्षेत्रमा आउने गरेको छ ।
बथानले खेतमा लगाएको धान बालीसँगै घरभित्र राखेको अन्न खाने र घर नै भत्काइदिने गरेकाले स्थानीय बासिन्दा निकै त्रसित भएका छन् ।
त्यस्तै दुई वर्षअघिमात्रै नगरपालिकाको वडा नं १ बन्साहका एक व्यक्तिको हात्तीको आक्रमणमा परेर मृत्युसमेत भएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र चुरे फेदीका बस्तीमा हात्तीले बढी क्षति पु¥याउँदै आएको छ ।