चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सुरु

चितवन । असोज १७, चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ ।
कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला हुने गर्दछ ।
निकुञ्जभित्रका बाटो मर्मत सकिएसँगै जीप सफारी सुरु गरिएको छ । यससँगै निकुञ्जमा पैदलयात्रा हुने गर्दछ । निकुञ्जसँगै जोडिएका मध्यवर्ती सामुदायिक वनमा जीप र पैदलसँगै हात्ती सफारी पनि हुने गर्दछ । सामुदायिक वनमा निर्माण गरिएका टावरमा रात बिताउने व्यवस्थासमेत रहेको छ । निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा डुङ्गा सफारी हुने गर्दछ ।
त्यस्तै क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार अब सौराहा आउने पर्यटकले निकुञ्जका सबै गतिविधिमा सहभागी हुन पाउने भएका छन् ।
निकुञ्ज बाहिर रहेका कुमरोज, बाघमारा र चित्रसेन सामुदायिक वनभित्रको मुख्य भागमा रात बिताउन मिल्ने गरी टावर रहेका छन् । ती टावरमा बस्न रुचाउनेका लागि पनि गतिविधि खुला भएको बताईएको छ ।