मनसुन बाहिरिन एक साता लाग्ने

काठमाडौँ । असोज १८, औसत मितिभन्दा यस वर्ष मनसुन पूर्णरुपमा बाहिरिन अझै एक साता लाग्ने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराज सापकोटाका अनुसार पश्चिमबाट सुधार हुँदै पूर्वतर्फ वर्षा भएर मात्रै मनसुन बाहिरिनेछ । त्यसका लागि कम्तीमा आगामी आइतबार/सोमबार लाग्न सक्नेछ ।
‘पश्चिमबाट सुधार हुँदै पानी पर्न कम हुँदै पूर्वतर्फ सरेर मात्रै मनसुन बाहिरिने हो, अझै केही दिन वर्षा हुन्छ, त्यसपछि हामी वुलेटिन निकालेरै सूचीत गर्छौँ,’सापकोटाले भने ।
सामान्यत: अक्टोबर-२ मा मनसुन बाहिरिने गरेकोमा यसपटक त्यस्तो भएको छैन । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ ।
न्युन चापीय क्षेत्रको प्रभावले आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद् पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो १/२ बजेदेखि साँझ ७ बजेसम्म काठमाडौँ उपत्यकासहित पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।