नेपालसँग सीमा जोडिएको भारतको तिकुनियामा भएको हिंसामा ८ जनाको मृत्यु

काठमाडौँ । असोज १८, नेपालको सीमा क्षेत्रसँग जोडिएको भारतको उत्तर प्रदेशको लखिमपुर जिल्लाको तिकुनिया गाउँमा हिंसा भड्किँदा आठ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चार किसान र बाँकी अन्य मानिस रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अन्य चार व्यक्तिमा दुई जना बिजेपीका कार्यकता रहेको र दुई सवारी चालक रहेको बीबीसी हिन्दीले जनाएको छ ।
उक्त घटनामा १२ देखि १५ जना घाइते भएका छन् । सो घटनाको समाचार संकलनका क्रममा साधना न्यूज च्यानलका संवाददाता रतन कश्यपको समेत मृत्यु भएको छ ।
एक कार्यक्रमका लागि लखिमपुर खिरी पुगेका उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यको विरोधमा किसानहरु सडकमा उत्रिने क्रममा भएको झपडले उग्र रुप लिएको बताइएको छ ।
सडकमा विरोधमा उत्रिएका किसानहरुमाथि एक सवारी चालकले गाडी चलाएपछि हिंसात्मक घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनालाई राजनीतिकरण गर्न थालिएको छ ।