एनआरएनएका उम्मेदवारहरु तितरबितर

सहयात्रा टिभी

काठमाडौं । असोज १९, गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनलाई लिएर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आन्तरिक सर्कुलर जारी गरेपछि उम्मेदवारहरू तितरबितर भएका छन् ।

यसअघि नै चुनावका लागि भनेर बद्री केसी निकटको प्यानलमा खुलेका माओवादी र काँग्रेस निकटका केही उम्मेदवार पछि हटेका छन् ।

त्यस्तै यसअघि केसी समूहमा खुलेका कोषाध्यक्षका उम्मेदवार तथा वर्तमान सहकोषाध्यक्ष लोक प्रसाद दाहालले आफू आचार्य समूहबाट चुनाव लड्ने घोषणा गरेका बताईएको छ ।

बेल्जियम निवासी दाहाल नेकपा माओवादी केन्द्र निकट मानिन्छन् । केही दिनअघि मात्रै बेल्जियमबाट नेपाल आएका उनले आवश्यक परामर्शपछि केसी टिम छाडेर आचार्यतिर लागेको बताइएको छ ।

यस्तै केही दिनभित्रै नेपाल आउन लागेका उपाध्यक्षका उम्मेदवार डिबी क्षेत्रीको प्यानलबारे पनि टुंगो लाग्नेछ । माओवादी निकट मानिने संगीता मरहठ्ठा, ओम गुरुङ र मिलन छन्त्यालले भने आचार्य समूहमा आउन अस्वीकार गरेको र उनीहरु गठबन्धन मान्न तयार नभएको एक अभियन्ताले बताए ।

यस्तै काँग्रेस निकट मानिने महेश श्रेष्ठ पनि आचार्य समूहतिर आउने तयारीमा रहेको बताइएको छ । आफ्नो टिम फाइनल गरेर मंगलबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न लागेका बद्री केसीलाई पछिल्लो समीकरणले समस्या भएको छ ।

त्यसैगरी एनआरएनएमा राजनीतिक प्यानलका आधारमा प्यानल बनाउन नपाइने व्यवस्था भएपछि अघोषित रुपमा राजनीति हुँदै आएको छ ।

प्रकाशित : 5 October, 2021

प्रतिक्रिया दिनुहोस्