एयरलाइन्सको भाडा महँगीयो, अस्ट्रेलियाको टिकेटको मूल्य ६ लाख

काठमाडौं । असोज १९, नेपालीहरुको चाडपर्वको मुखमा एयरलाइन्सको भाडा करिब शतप्रतिशत महँगो भएको छ । ‘अक्कुपेन्सी’ का कारण टिकट महँगो भएको एयरलाइन्सहरुको भनाइ रहेको छ ।
‘केही समयअघि ३ हजार रुपियाँमा पाइने टिकटका लागि अहिले तपाईंले ५र६ हजार रुपियाँ तिर्नुपरेको सही हो, तर हामीले मूल्य बढाएका छैनौं’, बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले नेपाल समाचारपत्रलाई भन्नुभयो- ‘नागरिक उड्डयन प्राधिकरणले तोकेभन्दा बढी हामीले भाडा लिन पाउँदैनौं ।’
अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर पर्छ, तर अहिले यात्रुको चापका कारण मूल्य बढेजस्तो लागेको मात्र हो भन्ने धारणा बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णको थियो ।
तर, अन्तर्राष्ट्रिय बजारमा भने हवाई टिकटको मूल्य ६ सय प्रतिशतसम्म बढेको छ । नेपालबाट अस्ट्रेलिया जाने यात्रुले ८० हजारमा टिकट पाउँथे भने अहिले ६ लाखभन्दा माथि टिकटको मूल्य रहेको छ ।