भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर र उनका परिवारको नाम पनि प्यान्डोरा पेपर्समा

काठमाडौँ । असोज २०, ट्याक्स हेभेन अर्थात कर उन्मुति दिने मुलुकमा गोप्य धन तथा कारोबार रहेका व्यक्तिहरुको सूचीमा भारतीय उद्योगपति अनिल अम्बानी तथा पूर्व क्रिकेटर सचिन तेन्दुलकारको पनि नाम रहेको खुलेको छ ।
इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आइसीआइजे) ले हालै प्यान्डोरा पेपर्स नाम दिएर सार्वजनिक गरेको खोजमूलक रिपोर्टमा ३०० बढी भारतीय नागरिकको नाम परेको छ ।
ठूलो संख्यामा भारतीय नागरिकको नाम सार्वजनिक भएपछि भारत सरकारले प्यान्डोरा पेपर्समाथि बहु एजेन्सी छानविनका लागि आदेश दिएको छ ।
केन्द्रीय प्रत्यक्ष कर बोर्ड सीबीडीटीका अध्यक्ष जेबी महापात्राको नेतृत्वमा छानविन समिति गठन गरिएको छ ।
रिलायनस एडीए ग्रुमका अध्यक्ष अम्बानी तथा उनका आफन्तको नाममा कम्तिमा १८ (अफशोर कम्पनी) नाममात्रका कम्पनी स्थापना गरेर लगानी तथा शेयर खरिद बिक्री गरेको पाइएको छ ।
यस्तै, पूर्व क्रिकेटर तेन्दुलकर तथा उनका परिवारको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमा एक संस्था रहेको पाइएको छ । सन् २०१६ मा स्थापना भएको सो संस्थामा तेन्दुलकर, उनी पत्नी अञ्जलि र ससुरा आनन्द मेहता शेयर लगानीकर्ता रहेका छन् ।
तेन्दुलकर फाउन्डेशनका सीआईओले भने उक्त लागनी वैध र कानुनी रुपले भएको दाबी गरेका छन् ।