स्मार्ट लाइसेन्सको नयाँ आवेदन दशैँपछि खुला हुने

सहयात्रा टिभी

काठमाडौं । असोज २१, सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को नयाँ आवेदन दशैँपछि खुला हुने भएको छ।

यातायात व्यवस्था विभागले असोज पहिलो सातादेखि आवेदन खुलाउने तयारी गरेको थियो । विभागका महानिर्देशक नमराज घिमिरेले प्रदेश सकारको तयारी नपुगेपछि दशैँपछि खुला गर्ने तयारी भएको जानकारी दिए।

गत वैशाख १६ देखि नयाँ आवेदन बन्द गरिएको थियो । यसबीचमा प्रयोगात्मक परीक्षा नियमित गरिएको थियो । कोरोना माहामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजार थियो । लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ ।

विभागमा सात लाख प्रति लाइसेन्स छपाइ गर्न बाँकी छ । सात लाख सेवाग्राहीले करिब डेढ वर्षदेखि लाइसेन्स कुरिरहेका छन् । कार्ड अभाव भएपछि छपाइको काम रोकिएको छ ।

उनले भने, “कार्ड आउन कम्तीमा एक महिना लाग्छ। डेलिभरी अर्डर भइसकेको छ । तिहारसम्ममा आइसक्नेछ। त्यसपछि मात्र छपाइको काम हुनेछ। ”

उनका अनुसार फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइँदै छ। २०७२ सालमा स्मार्ट लाइसेन्स लागू भएपछि छपाइको काम बाँकी रहँदै आएको छ ।

यसैबीच सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न राजपत्रमा सूचना प्रकाशन गर्न लागिएको विभागले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सूचना पठाइसकिएको र नयाँ मन्त्री नियुक्त भएपछि राजपत्रमा प्रकाशनको पहल हुने विभागले जनाएको छ ।

सवारीसाधनको विवरण डिजिटल प्रणालीमा राख्न इम्बोस्ड नम्बर प्लेट लागू गरिएको छ । गत २०७७ साउन १ बाट पुनः नियमित गरिए पनि नम्बर प्लेट राख्न आउनेको सङ्ख्या कम भएकाले अनिवार्य गर्न लागिको हो।

विभागले २०७४ भदौ ५ बाट इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो।

-गोरखापत्र

प्रकाशित : 7 October, 2021

प्रतिक्रिया दिनुहोस्