दुर्गम क्षेत्रका नागरिकलाई दशैँको मुखमा पनि चामलको अभाव

सहयात्रा टिभी

काठमाडौँ । असोज २१, हुम्ला,डोल्पा लगायत विकट जिल्लाका स्थानीयलाई दशैँले छोएको छैन। दशैँको वेला पनि चामल पाउन सकेका छैनन्। चाडपर्व आउँदा पनि दुर्गमका नागरिक खुसी छैनन्। अरु समयमा खाद्यान्नको अभाव त हुने नै गर्छ।

उनीहरूले भने जस्तै भएको भए गाउँगाउँका सडक यतिखेर चिल्ला भएका हुन्थे। सवारी साधन सरर गुड्थे ।  स्थानीयले सजिलैसँग सेवा पाएको अनुभूति गर्थे होला। तर बिडम्बना। विकट जिल्लाका नागरिक अभावमै गुज्रिरहेका छन्।

जनप्रतिनिधिले चुनावताका बेला घरदैलोमा बाचा गरेका चुनावी घोषणा पनि हराइसके। नेपालीहरूको महान चाड बडादशैँ आजबाट सुरु भइसकेको छ। जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार यस वर्षको दशैँमा पनि खाद्यान्नको अभाव भएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्य भन्छन्,‘यसपालीको दशैँमा पनि खाद्यान्नको अभाव भयो, स्थानीय भनेजस्तै चामल पाएका छैनन्।’

उनका अनुसार सडक छैन्। भएका सडक पनि वर्षाले बिगारिदिएको छ। मर्मत हुन सकेको छैन। त्यसैले यातायातका साधन नचल्दा खाद्यन्न आयत गर्न नसकेको उनी बताउँछन्। ‘स्थानीय तह,हामी मिलेर प्रदेश र केन्द्र सरकारलाई तत्काल तेल चामललगायत दैनिक उपभोग्य वस्तु ल्याउन माग गरेका छौँ,हवाइजहाजबाट भएपनि ल्याउने प्रयासमा छौँ,’उनले पहलबारे भने।

त्यहाँ उत्पादन भएको खाद्यान्नले वर्षेनी ६ महिनामात्रै पुग्ने गरेको छ। अरु महिनाका लागि स्थानीय बाहिरबाट आउने खाद्यान्नमा निर्भर हुनुपर्ने बाध्यता छ। डोल्पाका स्थानीयले पनि चाडपर्वको वेला भनेजस्तै खाद्यान्न पाउन सकेका छैनन्। जिल्ला प्रशासन कार्यालय डोल्पाले अभाव हुन नदिन पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकाल बताउँछन्।

वर्षातको समयमा झनै समस्या

अझै पनि विकट जिल्लाका अधिकांश क्षेत्रमा सडक सञ्जालमा जोडिएको छैन। जोडिएको पनि कालोपत्रे छैन। कच्ची सडक पानी पर्दा सबै भत्किने गर्छ। कुनै सडक पुरिएका छन्। जिल्ला प्रशासन कार्यालय मुगुका अनुसार बढी पानी परेको बेला सडक अवरुद्ध हुँदा समयमा खाद्य वस्तुहरूको आयात गर्न नसकिने समस्या छ।

 

 

प्रकाशित : 7 October, 2021

प्रतिक्रिया दिनुहोस्