नवरात्रको चौथो दिन आज, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ । असोज २४, नवरात्रको चौथो दिन आज शक्तिरुपा कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । दशैंको चौथो दिन आज पनि काठमाडौं उपत्यकासहित देशभरका शक्तिपिठहरुमा बिहानैदेखि घुइँचो लागेको छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।
कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ । साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने धार्मिक विश्वास छ ।
सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा बह्माण्डको सृष्टि र प्रलय हुने भएकाले उनलाई कुष्माण्डा भनिएको हो । आठ वटा हात हुने भएकाले कुष्माण्डालाई अष्टभुजा देवी पनि भनिन्छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।
दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।