सिनामंगलबाट ११ अफगान नागरिक पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ८, प्रहरीले काठमाडौँको सिनामंगलबाट ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान उनीहरु बसिरहेको घरमा पुगेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले छापा हानेर नियन्त्रणमा लिएको ब्यूरोका सूचना अधिकारी श्यामकुमार महतोले जानकारी दिए ।

उनीहरु केही दिनअघि भारत हुँदै सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएका थिए । काठमाडौं आइपुगेका उनीहरुलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एक घरमा राखेको थियो । पक्राउ परेकालाई अध्यागमन कार्यालयमा बुझाउने तयारी भएको ब्यूरोले जनाएको छ ।

काठमाडौंस्थित युएनएचसीआरले गुपचुपरुपमा अफगानिस्तानका नागरिकलाई अस्थायी आश्रय दिएर राखेपनि प्रशासनले थाहा पाएको थिएन । ढिलो गरी सूचना पाएपछि गृह मन्त्रालयले आइतबार बेलुका भारतसँगको सीमा नाका लगायतबाट हुने शरणार्थीको गैरकानूनी आगमनलाई कडाइ गर्न मातहतका प्रशासनलाई निर्देशन दिएको थियो ।

पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ ।

प्रकाशित : 25 October, 2021

प्रतिक्रिया दिनुहोस्