धन्तेरस, सुनचाँदी किन्दा शुभ

धन्तेरस कार्तिक कृष्ण त्रयोदशी तिथिमा पर्छ । यस दिनदेखि तिहार अर्थात यमपञ्चक सुरु हुन्छ । लक्ष्मीपुजाको २ दिन अघि वा काग तिहारको दिनमा धन्तेरस पर्छ ।
धन्तेरस नेपाली समाजमा त्यती मनाउने चलन थिएन । भारतीय संस्कारको प्रभावका कारण हिजोआज धन्तेरस मनाउन थालिएको हो । धन्तेरस तिहार चाडसँगै जोडिएको छ ।
ललितपुर इमाडोलकी गीता कुँवर उनकी छोरीलाई कानमा लगाउने सुनको रिङ किन्ने सोचमा हुनुहुन्थ्यो । घर नजिकको सुन पसलमा गएर तिहार सुरु हुनुभन्दा ५ दिन पहिलेनै रिङ बनाउन बैना दिइसक्नु भएको छ । सो गहना धन्तेरसका दिन आज लिने सल्लाह भएको छ । त्यसलाई लक्ष्मीपूजाको दिन पूजा गरेपछि नियमित लगाउने भनी तयार गर्न लगाइएको हो ।
धन्तेरसका दिन भाँडाकुडाका साथै सुन चाँदीका सिक्का वा गरगहना किन्ने प्रचलन छ । धेरैले सुनका सिक्का अर्थात असर्फी किन्ने गर्छन् । काठमाडौँ बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा सुनका असर्फी किन्न पाउने व्यवस्था मिलाइएको हुन्छ । यसपाली भने बिजुली बजारको पुरानो शाही औषधि लिमिटेडबाट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।
असर्फी उच्च गुणस्तरको सुनबाट बनाइएको सिक्का हो । शुद्घ सुनलाई गालेर सिक्काको आकारमा असर्फी बनाइन्छ ।
सुन्धाराको पुरानो भवनमा नेपाल राष्ट्र बैंकको टक्सार विभाग छ । त्यहीँ २.५, ५ र १० ग्रामका असर्फी बनाई राष्ट्र बैंकको टक्सार विभागबाट यो बिक्री हुन्छ । यसको मूल्य सुनको भाउभन्दा केही बढी पर्छ । यसैगरी बैंकले लक्ष्मीको चित्र भएका चाँदीका सिक्का पनि बिक्री गर्छ ।
धन्तेरसमा गहना भित्र्याउँदा घरमा लक्ष्मीको बास हुने विश्वास गरिन्छ । यस दिन क्षमतानुसार सुनका सिक्का (असर्फी), औँठी, बाला, कानमा लगाउने गहना किन्ने चलन छ । कतिपयले यस दिन पूजाको थाली, पञ्चपात्रो, कलशलगायतका सामान पनि खरिद गर्छन् । यस बेलामा ५, १०, ३० देखि १०० ग्रामसम्मका लक्ष्मीको छाप भएका चाँदीका सिक्का किन्ने चलन बढी छ ।
यी सामाग्री धन्तेरसका दिन किन्ने र त्यसलाई घरको पूर्वउत्तर (ईशान कोणमा) लगी राखिन्छ । धन्तेरसको प्रायः २ दिनपछि हुने लक्ष्मी पूजाको बेलामा यी सामाग्रीहरुको प्रयोग गर्ने प्रचलन छ । यी सामाग्री राखेर पूजा गरेमा लक्ष्मी माता खुशी हुन्छिन् र हामीलाई धनधान्यले सम्पन्न गराउँछिन् भन्ने विश्वास छ ।
धन्तेरसका दिन गच्छे र रुची अनुसार कमलको पुष्पासनमा बस्नुभएकी लक्ष्मी र गणेशको मूर्ति वा तस्बिर घरमा भित्र्याउने गरिन्छ । कसैले माटोको मूर्ति ल्याउने गर्छन् । यसो गरेमा फलदायी हुने जनविश्वास छ । भनिन्छ, अन्नले घरमा भरिपूर्ण हुन्छ । लक्ष्मीको मूर्ति वा तस्बिर उभिएको भए धन रहँदैन वा उडेर जान्छ भन्ने मान्यता भएकाले बसेकै लक्ष्मी चाहिन्छ ।
धन्तेरसमा भाँडाकुँडा किन्ने हो भने तामा, स्टिल, पित्तलआदिको साथमा चाँदी पनि किन्नु शुभ मानिन्छ । यसो गरेमा कुवेरजीसमेत घरमा विराजमान भई धनधान्यले भरिपूर्ण हुनेछ । अझै सुन किन्नु लाभदायीक मानिन्छ । यस दिन किनेका सामाग्री अन्यलाई दिनु उचित मानिँदैन । यस दिन कालो रंगको सामान झुक्किएर पनि नकिन्नु भनिन्छ । कालो रंगको सामान घरमा भित्र्याएमा अशुभ हुने लक्षणको संकेत मानिन्छ ।
कतिपयले यस दिन धनियाँ (सिङ्गो), कौडी र कमलगट्टा किनेर घरमा ल्याउँछन् । यसलाई लक्ष्मी पूजामा चढाउने र घरमा राख्नाले शुभ हुने विश्वास छ । यसबाट घरमा धनको कमी नहुने र घरपरिवारमा शान्ति मिल्ने जनविश्वास छ ।
धन्तेरसदेखि नै लक्ष्मीको उत्सव सुरु हुने भएकाले बेलुका घरघरमा झिलिमिली बत्ती बालेर पूजा थालिन्छ । तिहारमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा हुन्छ । तिहारको पहिलो दिन कात्तिक कृष्ण त्रयोदशी तिथिमा काग तिहार पर्छ । यस दिन कागको पूजा गर्ने र घरमा पाकेका खाना कागलाई दिने गरिन्छ । कागलाई पूजाआज नगरे र खान नदिए पाप लाग्छ भन्ने मान्यता छ ।
धर्म शास्त्रकाअनुसार नरकका यमराजका दूतका रुपमा कागले काम गर्छ । कागले संसारका प्राणी र यमराजको बीचमा आकाश मार्गबाट सबैभन्दा छिटो किसिमले सन्देश लैजाने र ल्याउने गर्छ भन्ने मान्यता छ । काग अशुभ सन्देशको बाहक मानिने भएकाले घर छेउमा आएर कराएमा ‘का कौवा का, शुभ बोल, शुभ बोल’ भन्ने चलन छ ।
त्यसैगरी यस दिन यमदीपदान गर्ने चलन पनि छ । धार्मिक विधि अनुसार दान गर्दा दक्षिण फर्काएर गर्नुपर्छ । यसो गर्दा मृत्युपछि यमराजले दिने यातना खप्नु पर्दैन भन्ने विश्वास गरिन्छ ।
यसै दिन धन्वन्तरी दिवस पनि मनाइन्छ । आयुर्वेदका प्रवर्द्धक धन्वन्तरी ऋषिको स्मरणमा यो दिवस मनाइने गरिएको हो । उनी यसै दिन समुन्द्र मन्थनका क्रममा उत्पत्ति भएका थिए भन्ने धार्मिक मान्यता छ ।
आयुर्बेदिक औषधिको प्राचिन कालदेखि आजसम्म पनि मानवसहित संसारका प्राणीलाई रोगबाट बचाउन र आयु बढाउनमा महत्वपूर्ण भूमिका छ । धेरै थरीका जडिबुटीले भरिपूर्ण हाम्रो जस्तो देशमा यसको महत्व अझै बढ्दै जान जरुरी देखिन्छ ।
- तुला तिमिल्सिना