अमेरिकी सहायक विदेशमन्त्री लुले आज प्रधानमन्त्री देउवालाई भेट्दै
काठमाडौँ । २ मंसिर, नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट् गर्दैछन् । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु बुधबार साँझ काठमाडौं आइपुगेका हुन् ।
आज प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासहित अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । उपसहायकमन्त्री केली केइन्डरलिङ पनि आज काठमाडौँ आइपुग्दै छिन् ।
अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि भ्रमण भएको हो । कोभिड-१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति जो बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीबारे छलफल हुने दूतावासले जनाएको छ ।
साथै, लामो समयदेखि अल्झनमा परेको एमसीसीबारे पनि छलफल हुने भएको छ । यद्यपि, यसबारे औपचारिक जानकारी दिइएको छैन ।