प्रदेश २ मा कांग्रेस नेतृत्व चयनका लागि निर्वाचन हुँदै

काठमाडौँ । पुस ६, प्रदेश २ मा नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ।
केही जिल्लाको क्षेत्रबाट प्रतिनिधि छनोट हुन नसक्दा केन्द्रीय महाधिवेशनपछि पुस ६ र ७ गते अधिवेशन गर्ने गरी स्थगित गरिएको थियो। ७२ सदस्यीय प्रदेश समितिको लागि आज जनकपुरधाममा मनोनयन दर्ता हुन लागेको हो।
जनकपुरको गोपालधर्मशालमा अधिवेशन स्थल राखिएको छ। बिहान ११ बजेदेखि मनोनयन दर्ता हुने पूर्व तालिका रहेपनि केहि क्षेत्रहरुबाट मतदाता नामावली नआइसकेकाले समय केही पर सर्ने निर्वाचन अधिकृत प्रह्लाद गौतमले बताए।
प्रदेश २ को ६४ प्रदेश निर्वाचन क्षेत्रबाट झण्डै २ हजार मतदाता अधिवेशनमा भाग लिँदैछन्। एक निर्वाचन क्षेत्रबाट ६० जना प्रतिनिधि छनोट गरिएको काँग्रेसका एक नेताले जानकारी दिए।
आज मनोनयन दर्ता र भोलि मतदान हुने निर्वाचन अधिकृत गौतमले बताए। अधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ।