तराईमा हुस्सु र कुहिरो, पहाडमा हिमपातको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । पुस २३, जल तथा मौसम विज्ञान विभागका अनुसार, आज बिहानैदेखि प्रदेश १, प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ।

जसले गर्दा घाम लाग्न सकेको छैन भने चिसो बढेको छ। पश्चिमी र मध्य तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नसम्म हट्ने विभागले जनाएको छ। तर, चिसो बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

यससँगै पश्चिमी वायुको प्रभावले आज देशभर वर्षाको सम्भावना छ। विभागका अनुसार, प्रदेश १ र प्रदेश २ का बाहेक अन्य प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने भएकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने विभागले जनाएको छ। यसबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज राति पनि प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने विभागको आकलन छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्का हिमपातको सम्भावना रहेको विभागको प्रक्षेपण छ।

प्रकाशित : 7 January, 2022

प्रतिक्रिया दिनुहोस्