कोभिड संक्रमणदरले दिन प्रतिदिन रेकर्ड तोड्दै

सहयात्रा टिभी

काठमाडौं । माघ ६, कोभिड संक्रमणदरले दिनप्रतिदिन रेकर्ड तोड्दै गएको छ ।

कोरोना भाइरस महामारी शुरू भएयता बुधवार मुलुकमा अहिलेसम्मकै उच्च ११ हजार ३५२ जना संक्रमित थपिएका छन् । यो संक्रमण दर ५२ दशमलव ६ प्रतिशत हो ।

कुल २३ हजार ४०९ ओटा नमूना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । बुधवार काठमाडौं उपत्यकामा ६ हजार ३४३ जना संक्रमित थपिएका छन् । यसमध्ये भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९, काठमाडौंमा ४ हजार ६६६ जना संक्रमित थपिएका छन् ।

महामारी बढ्दै जाँदा जताततै कडाइ भने गरिएको छ । हवाईयात्रुले अबदेखि कोभिडविरुद्धको खोप लगाएको खोप कार्ड देखाउनुपर्ने भएको छ । वायुसेवा सञ्चालक संघको बुधवारको बैठकले हवाई यात्रुको सुरक्षासम्बन्धी मापदण्ड जारी गरेको छ ।

गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिँदै माघ मसान्तसम्म आमसभा, जुलुस, भेला सञ्चालन नगर्ने, माघ १५ गतेसम्म विद्यालय, फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्ने निर्णय गरेको थियो ।

१२ देखि १८ वर्षमुनिका बालबालिकालाई खोप घोषणा भए पनि बढी जनसंख्या भएको प्रदेश एकका झापा, मोरङ र सुनसरी तथा दुई नम्बर प्रदेशका धनुषा, सप्तरी र पर्साका बालबालिकाले पहिलो मात्रा खोप नै पाएका छैनन् ।

सिरिन्जलगायत सामग्री नहुँदा लक्ष्यअनुसार खोप लगाउन नसकिएको सरकारी अधिकारीहरूको भनाइ छ ।

मधेश प्रदेशमा ४८ र लुम्बिनी प्रदेशका ५२ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । लुम्बिनी प्रदेशमा अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज दिन थालिएको छ । लुम्बिनीमा ४ लाख डोज खोप मौज्दात भए पनि सिरिन्जको अभाव छ ।

प्रकाशित : 20 January, 2022

प्रतिक्रिया दिनुहोस्