न्यूनतम सँगै अधिकतम तापक्रम घट्दा चिसो बढ्यो

काठमाडौं । माघ ९, देशका धेरै ठाउँमा अधिकतमसँगै न्यूनतम तापक्रम घट्दा चिसो ह्वात्तै बढेको छ ।
केहीदिन यता पश्चिमी वायुको प्रभावले देशभरी कै मौसम पूर्ण रुपमा खुल्न सकेको छैन। मौसम नखुलेपछि अधिकतमसँगै न्यूनतम तापक्रम घटेको छ।
मौसम पूर्वानुमान महाशखाका अनुसार देशका केही ठाउँको तापक्रम ६ डिग्रीसम्म घटेको छ। न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढेको हो।
महाशाखाका अनुसार शुक्रबार अधिकतम तापक्रम १२ दशमलव ८ डिग्री सेल्सियस रहेको डडेलधुराको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री मापन गरिएको थियो।
शनिबार भने डडेलधुराको अधिकतम तापक्रम ७ डिग्री र न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ।
यस्तै शुक्रबार अधिकतम तापक्रम २१ दशमलव २ र न्यूनतम तापक्रम १० डिग्री मापन गरिएको दिपायलको तापक्रम शनिबार घटेको छ।
शनिबार दिपायलको अधिकतम तापक्रम १८ दशमलव २ र न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्रंी सेल्सियसम्म झरेको छ।
यस्तै शुक्रबार काठमाडौंको अधिकतम तापक्रम १६ दशमलव १ डिग्री तथा न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री मापन गरिएको थियो।
शनिबार भने काठमाडौंको अधिकतम तापक्रम १३ दशमलव ५ डिग्री तथा न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ।