अशक्तलाई घरमै शिक्षा

सहयात्रा टिभी

काठमाडौं । माघ १३, जाजरकोटको कुशेमा विद्यालयको पहुँचमा पुग्न नसकेका शारीरिक अशक्तलाई घरमै पढाउने गरिएको छ।

कुशे गाउँपालिका–८ मेलबिसाउनका शिवराज गिरी जन्मजात शारीरिक अपांगता भएका बालक हुन्। उनका खुट्टा चल्दैनन्। जसका कारण उनी उभिन र हिँडडुल गर्न समेत सक्दैनन्।

गिरी पढ्ने चाहना हुँदाहुँदै विद्यालय जान सक्दैनथे। ११ वर्षको उमेरसम्म पनि उनी पढ्ने र सिक्ने अवसरबाट टाढा थिए। तर, तीन वर्षदेखि घरमै पढ्ने अवसर पाएका १३ वर्षीय शिवराजले धेरै सिकिसकेका छन्। अक्षर र अंक चिन्नुका साथै गणितका आधारभूत क्रियाहरू जोड, घटाउ, गुणन र भाग गर्न सिकिसकेका छन्।

शिवराज पढाइमा निकै चाख राख्ने भएकाले पढाइएको विषयवस्तु राम्रोसँग सिकिरहेको सहजकर्ता बिना गिरीले बताइन्। सेभ द चिल्डे«नको सहयोगमा पहाडी क्षेत्र विकास अभियान जाजरकोटद्वारा सञ्चालित सहयात्रा परियोजनाले घरमै शिक्षकको व्यवस्था गरी पठनपाठनको व्यवस्था मिलाएपछि शिवराजको पढ्ने धोको पूरा हुन थालेको छ।

पढेर संसार चिन्ने र देख्ने सपना बोकेका शिवराज पढ्न पाएपछि निकै खुसी भएका छन्। शिवराज भन्छन्, ‘घरमै पढ्न पाउँदा निकै खुसी लागेको छ। अवसर पाए उच्च शिक्षासम्म अध्ययन गरेर जागिर खाने सपना छ।’

 

प्रकाशित : 27 January, 2022

प्रतिक्रिया दिनुहोस्