प्रदेश १ मा १९ सदस्यीय मन्त्रिपरिषद् बनाउने मुख्यमन्त्री राईको तयारी
काठमाडौं । माघ २५, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले १९ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् ।
उनले १० देखि १५ दिनभित्रमा पुनः मन्त्रिपरिषद् विस्तार गरिसक्ने बताएका हुन् । मुख्यमन्त्री राईले ७ बाट १३ वटा मन्त्रालय विस्तार गरी आइतबार ८ मन्त्री नियुक्त गरेका कारण चर्को आलोचना भइरहेका बेला थप ५ राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषिमन्त्रीमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगर नियुक्त भएका छन् ।
त्यस्तै, सामाजिक विकासमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजन राई, पर्यटन तथा संस्कृतिमन्त्रीमा एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बु र यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा एकीकृत समाजवादीका उपेन्द्र घिमिरे नियुक्त भएका हुन् ।
कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा प्रतापप्रकाश हाङ्गाम, र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीमा ओमप्रकाश सरावगी नियुक्त भएका छन् ।