फेसबुक र इन्स्टाग्राम बन्द भएपनि कुनै असर नपर्ने ईयूको प्रतिक्रिया

काठमाडौं । माघ २६, हालै मेटाले युरोपबाट आफ्नो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम बन्द गर्ने चेतावनी दिएको छ ।
आफ्ना प्रयोगकर्ताहरूको डेटा प्रोसेस गर्न अनुमति नदिएको खण्डमा युरोपमा फेसबुक र इन्स्टाग्राम दुवै बन्द गर्ने धम्की मेटाले दिएको हो ।
युरोपेली आयोगले अनुमोदन गरेको नयाँ नियम अनुसार युरोपमा सेवा सञ्चालन गरिरहेका सबै कम्पनीले युरोपभित्र अवस्थित स्थानीय सर्भरहरूमा प्रयोगकर्ताको डेटा प्रोसेस गर्नुपर्छ । हालसम्म मेटाले प्रयोगकर्ताको डेटा युरोपबाट आफ्नो अमेरिकी सर्भरमा ट्रान्सफर गर्दै आएको छ ।
नयाँ नियमले युरोपबाट अमेरिकी सर्भरमा डेटा ट्रान्सफर गर्ने बाटो बन्द हुने भएपछि सोसल मिडिया प्लेटफर्म नै बन्द हुनसक्ने चेतावनी मेटाले दिएको छ ।
मेटाको यो चेतावनीमाथि युरोपेली युनियन ईयू का दुई अधिकारीले टिप्पणी गरेका छन् ।जर्मन अर्थमन्त्री रोबर्ट हबेक र फ्रान्सेली अर्थमन्त्री ब्रुनो ले माइरेले ईयूको नयाँ नियम पालना गर्न मेटा बाध्य हुनुपर्ने र अन्यथा कम्पनीको सोसल मिडिया प्लेटफर्महरू युरोपभर प्रतिबन्धित हुने उल्लेख गरे ।
जर्मन अर्थमन्त्री हबेकले फेसबुक बिनाको जीवन उत्कृष्ट रहेको विचारसमेत व्यक्त गरे । त्यस्तै माइरेले फेसबुक बिना मानिसहरू धेरै राम्रोसँग बाँच्ने भनाइ राखे । साथै उनले युरोपेली युनियन आफ्ना जनताको अधिकारको रक्षा गर्नबाट पछि नहट्ने स्पष्ट पारे ।
यी दुई अधिकारीहरुको टिप्पणी सार्वजनिक भएपछि युरोपेली युनियनले आफ्नो नयाँ नियम परिमार्जन नगर्ने संकेत बुझिएको छ ।