बेलायतमा कोरोनासम्बन्धी सबै प्रतिबन्ध हटाइँदै

काठमाडौं । माघ २७, बेलायतमा कोरोनासम्बन्धी सम्पूर्ण प्रतिबन्धहरु दुई साताभित्र हटाइने भएको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले संसदमा कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको जानकारी दिएका हुन्।
परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफैँ आइसोलेसनमा बस्नुपर्नेलगायतका नियमको म्याद २४ मार्चमा सकिँदैछ ।
कोभिड संक्रमण घट्दै गएको र विज्ञहरुको सुझाबविपरित मृत्युका घटनामा उल्लेख्य कमी आएपछि सरकारले सबै प्रतिबन्ध हटाउने भएको हो ।
सरकारको तथ्यांकअनुसार पछिल्लो मंगलबार बेलायतमा ६६ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो साताको तुलनामा ४१ दशमलब १ प्रतिशतले कमी हो । १० दिनअघिसम्म बेलायतमा दैनिक संक्रमितको संख्या एक लाख थियो ।