झण्डा पार्कमा टिकटक बनाउनेको ओइरो

काठमाडौं । माघ २७, यतिबेला लहान बजारको झण्डा पार्क निकै चर्चामा छ । दिनभर फोटो खिचाउन र टिकटक बनाउन युवायुवतीहरूको ठूलै भीड हुन्छ ।
लहान वरपरका स्थानीय र गाउँ देहातबाट पढ्न आउने युवाहरूको लागि रमणीय ठाउँ भएको छ झण्डा पार्क । पार्कमा खासै त्यस्तो केही रोचक कुरा छैन । ५० वटा नेपाली झण्डा फहराइएको छ तर मानिसहरु गाडी रिजर्भ गरेर समेत झण्डा पार्क हेर्न ओइरिन्छन् ।
अहिले चर्चामा रहेको झण्डा पार्क लहान नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने हिसाबले तारबार मात्र गरेको हो । तर फोहोरमा कमलको फुल उम्रे जस्तो भएको छ यतिबेला लहानको झण्डा पार्क । फोटो खिचाउन र टिकटक बनाउनेहरुको बिहानदेखि बेलुकासम्म भीड हुन्छ । लहान बजार क्षेत्रमा फुर्सदको समय बिताउने खुल्ला ठाउँ नभएर पनि यो झण्डा पार्क यतिबेला सबैको लागि आकर्षणको केन्द्र बनेको छ ।
लहान नगरपालिका–५, बालुवाटोल छेउको खुट्टी खोलामा पर्ने झण्डा पार्क रहेको स्थान एक समय निकै बदनाम थियो । अहिले पनि गाँजा, भाङ, धतुरो दुर्व्यसन गर्ने ठाउँको रूपमा चिनिन्छ । दुर्व्यसनी युवाबाट चोरी लगायतका घटना फाट्टफुट्ट हुने गरेको छ । लहानमा चोरीको कुनै घटना भए स्थानीयको पहिलो नजर यहीँ बालुवा टोलतिरै पुग्छ । लहानका मेयर मुनि साहको घर पनि यही हो । अहिले झण्डा पार्कका कारण यो गाउँ ठाउँ विस्तारै बदनाम हुनबाट माथि उठ्न थालेको छ ।