चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने एमालेको तयारी

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २, नेकपा एमालेले चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।

महाअभियोग प्रस्तावबारे छलफल गर्न एमालेले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकमा सांसदहरुको हस्ताक्षर संकलन गर्ने र महाअभियोग प्रस्ताव दर्ता हुने एमालेका एक पदाधिकारीले अनलाइनखबरलाई बताए ।

सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग प्रस्ताव दर्ता लगत्तै जबरा निलम्बनमा परेपछि कार्की कायम मुकायम प्रधानन्यायाधीश बनेका छन् ।

ओली र जबराबीचको त्यो छलफल, जसले गठबन्धनको हलचल साम्य पार्‍यो जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि आइतबार साँझ आकस्मिक रुपमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुपर्ने बताएका थिए । तर योगेश भट्टराई, सुभास नेम्वाङ लगायतका नेताहरुले त्यसो गर्न नहुने बताए पनि ओलीले नमानेको स्रोतले बतायो ।

ओलीले गरेको संसद विघटनलाई गत २८ असारमा सर्वोच्चले असंवैधानिक कदम भएको ठहर गरेको थियो । जबरा नेतृत्वको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

एमाले सचिवालय बैठकले जबराविरुद्धको महाअभियोग प्रस्ताव अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम भएको निष्कर्ष निकाल्दै असफल पार्ने निर्णय गरेको थियो ।

एमाले उपमहासचिव विष्णु रिमालले जबराविरुद्धको महाअभियोग प्रस्तावलाई एमालेमाथि ढुंगा हानिएको भनेर टिप्पणी गरेका छन् । हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुने भन्दै रिमालले सामाजिक सन्जालमा आज लेखेका छन्, ‘गठबन्धन भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ । ढुंगा सर्वोच्चमा बज्रिएको छ ।’

प्रकाशित : 14 February, 2022

प्रतिक्रिया दिनुहोस्