आजको सर्वदलीय बैठकमा एमाले सहभागी होला ?
काठमाडौं । फाल्गुन २, सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका छन् ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ तर, प्रमुख प्रतिपक्षी एमाले बैठकमा सहभागी हुने नहुने निर्णय हुन बाँकी छ।
यसअघि एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुख सापकोटाले सांसदबाट पदमुक्त गरेको सूचना नटाँसेको भन्दै एमालेले सभामुखले बोलाएका सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ । यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।
सत्ता गठबन्धनका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरे पछि सभामुखले फेरि सर्वदलीय बैठक बोलाएका छन्।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ‘सभामुख सापकोटाले बोलाएका सर्वदलीय बैठकमा जाने(नजाने टुंगो नभएको बताउँछन् । ‘आजको सर्वदलीय बैठकमा के गर्ने भन्नेबारे संसदीय दलको बैठकमा छलफल गरेर तय हुन्छ,’ नेम्वाङले भने । एमाले बैठक ११ बजे बस्दैछ।
यद्यपि कार्य व्यवस्था समितिमा एमाले सहभागी हुँदै आएको छ ।