एमसीसी जबर्जस्ती बढाए विपक्षमा मतदान
काठमाडौं । फाल्गुन ५, मधेश प्रदेशका जिल्लाहरुको आवासीय भ्रमण सकेर अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ ।
बुधबार साँझदेखि झण्डै पाँच घण्टा चलेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी, सत्ता गठबन्धन र आगामी चुनाव केन्द्रित छलफल गरेको छ ।
सचिवालय बैठकले निकालेको निष्कर्षलाई शनिबार बस्ने स्थायी कमिटीबाट अन्तिम रूप दिने एकीकृत समाजवादीको तयारी छ । ‘हतार, हतपत र उत्ताउलो पारामा जाँदैनौं । स्थायी कमिटी बैठकबाट मुलुक, व्यवस्था र संविधान अनुकुल निर्णय गर्छौं’, उपमहासचिव गंगालाल तुलाधार भन्छन् ।
सत्ता साझेदार नेपाली कांग्रेसले मंगलबार र माओवादी केन्द्रले बुधबार एमसीसीबारे निर्णय गरेपछि एकीकृत समाजवादी दबाबमा परेको थियो । ‘हामी गठबन्धन र एमसीसीबारे सचेत छौं । अध्ययन र छलफलबाट उपयुक्त निर्णय पनि लिन्छौं’, तुलाधर भन्छन् ।
विशेषगरी एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न नेताहरूको दबाब बढेपछि बुधबार निकै लामो बैठक चलेको थियो । बैठकले एमसीसी, गठबन्धन र आगामी चुनावबारे मोटामोटी निष्कर्ष समेत निकालेको एक नेता बताउँछन् ।