बाँकेमा ६ महिनामा ४४ कुष्ठरोगी थपिए

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ६, बाँकेमा चालु आर्थिक वर्षको छ महिनामा मात्रै कुष्ठरोगी ४४ जना फेला परेका छन् ।

जिल्लाका आठ स्थानीय तहमा पछिल्लो छ महिनामा ४४ नयाँ रोगी फेला परेको स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले बताउनुभयो ।

उहाँका अनुसार सबैभन्दा धेरै नेपालगञ्ज र कोहलपुरमा कुष्ठरोगी छन् । नेपालगञ्जमा १३, कोहलपुरमा ११, जानकी गाउँपालिकामा छ, बैजनाथ र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, खजुरामा तीन र डुडुवामा एक कुष्ठरोगी फेला परेका छन् । राप्तीसोनारी गाउँपालिकामा भने कुष्ठरोगी फेला परेका छैनन् ।

गत आवमा बाँकेमा १२८ कुष्ठरोगी फेला परेका थिए । सरकारले १२ वर्षअघि नै नेपालमा कुष्ठरोग निवारण घोषणा गरे पनि बाँके भने अहिले पनि कुष्ठरोगको उच्च जोखिममा देखिएको नेपालीले बताउनुभयो ।

उहाँले कुष्ठरोगीको पहिचान र उपचार निःशुल्क हुने भएकाले उपचारको पहुँचमा आउन सबैलाई आग्रह गर्नुभयो । कुष्ठरोग जोखिमका हिसाबले बाँके देशकै दोस्रो स्थानमा छ । लुम्बिनी प्रदेशको कपिलवस्तु जोखिमको हिसाबले पहिलो स्थानमा छ । प्रति १० हजारमा एकजनाभन्दा कम भए निवारण भएको मानिन्छ । बाँकेमा प्रति १० हजारमा एक दशमलव ५९ मा कुष्ठरोगको सङ्क्रमण देखिएको छ ।

प्रकाशित : 18 February, 2022

प्रतिक्रिया दिनुहोस्