फिलिपिन्सविरुद्ध क्यानडा ११८ रनले विजयी

काठमाडौं । फाल्गुन ६, क्यानडाले आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा फिलिपिन्सलाई ११८ रनले हराएको छ ।
शुक्रबार म्याथ्यु स्पूर्सले शतक बनाउनुका साथै रायन पठानसँग पहिलो विकेटका लागि १४९ रनको साझेदारी गरेपछि क्यानडाले सानदार सुरुवात गरेको हो ।
मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा फिलिपिन्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । त्यसपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा एक विकेट गुमाएर २१६ रन बनाएको थियो । २१७ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले पाँच विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।
क्यानडाका स्पूर्सले ६६ बलमा १४ चौका र तीन छक्कासहित अविजित १०८ रन बनाए । उनले रायन पठानसँग पहिलो विकेटका लागि १४९ रनको साझेदारी गरेका थिए । पठानले ४४ बलमा ९ चौका र दुई चौकासहित ७३ रन बनाए । कप्तान नवनीत धलीवालले अविजित २६ रन बनाए । उनले ११ बलमा तीन छक्का प्रहार गरे ।
फिलिपिन्सका हुजैफा मोहम्मदले एक विकेट लिए । २१७ रनको लक्ष्य पछ्याएको फिलिपिन्सका लागि ड्यानियल स्मिथले सबभन्दा धेरै ३५ रन बनाए । कपिल कुमारले २३ रन बनाउँदा विमल कुमार १५ रनमा अविजित रहे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
क्यानडाका कालीम साना र साद विन जफरले समान दुई विकेट लिए । जुनैद सिद्धिकीले एक विकेट लिए ।
जितपछि दुई अंक जोडेको क्यानडा समूह ‘बी’को शीर्ष स्थानमा छ । समान दुई अंक जाडे पनि रनरेटका आधारमा नेपाल दोस्रो स्थानमा छ ।