केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकपमा पुग्न नेपाल एक कदम मात्र पछाडि

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १०, नेपाली राष्ट्रिय क्रिकेट टोली टी २० विश्वकप छनोटको सेमिफाइनलमा आज यूएईसँग प्रतिस्पर्धा गर्दै छ।

आज यूएईलाई हराए नेपालले अस्ट्रेलियामा हुने टी २० क्रिकेट विश्वकपमा स्थान पक्का गर्नेछ। अर्थात्, नेपाल विश्वकपबाट एक कदम मात्र पछाडि छ। आजको खेलमा जित निकाल्न सके सन् २०१४ मा विश्वकप खेलेको नेपालले २०२२ मा दोस्रो पटक विश्वकप खेल्नेछ।

पछिल्ला चार खेलमा एकअर्काविरुद्ध दुवै टोलीले समान २ खेल जितेका छन्। विश्वकप क्वालिफायर्सअघि पनि यही महिना नेपाल र यूएई आमनेसामने भएका थिए।

जसमा यूएईले नेपाललाई २५ रनले हराएको थियो। यूएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १६७ रनमा समेटिएको थियो। त्यसअघि सन् २०१९ मा भएका दुई खेलमा नेपालले जित निकालेको थियो भने एउटा खेलमा यूएईले जित निकालेको थियो।

पछिल्ला खेल हेर्दा यूइईको बलियो पक्ष ब्याटिङ देखिन्छ। जारी प्रतियोगितमा पनि सबैभन्दा बढी रन बनाउने खेलाडी पनि यूएईकै छन्। छनोटका समूह चरणका तीन खेलमा भारतको चेन्नईमा जन्मिएका यूएईका १९ वर्षे खेलाडी वित्रिय अरविन्दले सर्वाधिक २२१ रन जोडेका छन्। उनले बहराइनविरुद्ध अविजित ८४ रन, जर्मनीविरुद्ध ४० रन र आयरल्याण्डविरुद्ध १३ चौका र १ छक्काको सहायतामा ६७ बलमा अविजित ९७ रन जोडेका थिए।

त्यस्तै, जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी सूचीको दोस्रो र तेस्रो स्थानमा नेपालका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी छन्। भुर्तेलले ओमानविरुद्ध ५, फिलिपिन्सविरुद्ध १०४ र क्यानडाविरुद्ध अविजित ३४ बनाए। त्यस्तै ऐरीले ओमानविरुद्ध ११, फिलिपिन्सविरुद्ध ८३ र क्यानडाविरुद्ध अविजित २७ रन बनाएका थिए।

बलिङतर्फ प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीमा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने छन्। उनले तीन खेलमा ८ विकेट लिँदा कमलसिंह ऐरीले ६ विकेट लिएका छन्। यूएईका लागि सर्वाधिक विकेट खासिफ दाउदले लिएका छन्। उनले तीन खेलबाट ५ विकेट लिएका हुन्।

प्रकाशित : 22 February, 2022

प्रतिक्रिया दिनुहोस्