सौराहामा देखिन थाले विदेशी पर्यटक

काठमाडौं । फाल्गुन ११, नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् ।
कोरोना भाइरस संक्रमण जोखिमका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने अनुमान गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यून हुँदै गएपछि गोष्ठी, सभा, सम्मेलनजस्ता कार्यक्रमले समेत यहाँका ठूला होटल भरिन थालेका छन् । लामो समयपछि युरोपियन पर्यटक आउन सुरु गरेका हुन् ।
भारतीय पर्यटकको बुकिङ् पनि राम्रो छ’, क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईले भने, ‘विगतका वर्षमा यो बेला ९० प्रतिशतसम्म होटलका कोठा बुकिङ हुने गरेको थियो । यस वर्ष १५ प्रतिशत हाराहारी कोठा भरिन थालेका छन् ।’
सभा, सम्मेलनका ठूला होटल बुकिङ हुन थालेको उनको भनाइ छ । ‘यतिबेला यहाँको होटलमा विदेशी पर्यटक ८० प्रतिशत हुने गर्दथ्यो । तीमध्ये चिनियाँ पर्यटक मात्रै ५० प्रतिशत हुने गर्दथे’ उनले भने, ‘अहिले विदेशी पर्यटक आउन थालेका छन् । त्यो नै खुसीको कुरा हो ।’ पर्यटकको सोधपुछ निकै बढेको भट्टराईको भनाइ छ ।
जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार जर्मन, हल्याण्ड, इजरायललगायत देशका पर्यटक आउन थालेका हुन् । ट्रेकिङका लागि नेपाल आएका उनीहरू सौराहा घुम्न आएको उनको भनाइ छ ।