आज पनि चारैतिरबाट संसद घेर्ने तयारी
काठमाडौं । फाल्गुन १५ ,आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने सम्भावना रहेको भन्दै विभिन्न राजनीतिक दलले विरोध प्रदर्शनको कार्यक्रम राखेका छन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित आठदलीय मोर्चाले भोलि दिउँसो १२ बजे माइतीघरमा भेला भएर नयाँ बानेश्वरस्थित संसद भवन घेर्ने कार्यक्रम राखेका छन् ।
उक्त मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी,मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल,आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी,ऋषि कट्टेल नेतृत्वको नेकपा, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले उक्त कार्यक्रम राखेका हुन् ।
त्यसैगरी सीपी मैनाली संयोजक रहेको २२ दलीय मोर्चाले पुरानो बानेश्वरमा १२ बजे जम्मा भई भीमसेनगोला हुँदै मिलन चोकमा निस्किएर बानेश्वर पानीट्यांकी नजिक पुगी प्रदर्शन गर्ने जनाएको छ ।
नारायणमान बिजुक्छे नेतृत्वको नेमकिपाले साढे ११ बजे कोटेश्वर चोकमा जम्मा भई र्यालीसहित संसद भवन छेउ अगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।