मान्छेमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा

काठमाडौं । फाल्गुन १९, बाँकेमा मान्छेलाई पटक–पटक आक्रमण गर्ने समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिइएको छ ।
पछिल्लोपटक फागुन ७ गते राप्तीसोनारी गाउँपालिका–६ का ६० वर्षीय धनबहादुर चलाउनेलाई आक्रमण गरेको बाघलाई बुधबार त्यही ठाउँबाट नियन्त्रणमा लिइएको हो ।
राप्तीसोनारी गाउँपालिका–६ स्थित राप्तीपीडित सामुदायिक वनमा फागुन ९ गतेदेखि पाडो राखेर बाघलाई नियन्त्रणमा लिने प्रयास गरिएको थियो । समस्याग्रस्त उक्त बाघले मंगलबार राति पाडोलाई आक्रमण गरेको थियो ।
बुधबार बिहान १० बजेतिर पुगेको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको हो । बाघलाई बेहोस हुने औषधि राखेको गोली हानिएको थियो ।
वन डिभिजन कार्यालय, बाँकेका प्रमुख दधिराम कँडेलका अनुसार धेरै दिनको प्रयासपछि मान्छेमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । उक्त बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली परिचालन भएको थियो ।
वन अधिकृत गणेश खड्काले नियन्त्रणमा लिइएको बाघलाई बाँकेको खैरीस्थित होल्डिङ सेन्टरमा राखिएको जानकारी दिनुभयो । यसअघि बर्दियाबाट ल्याइएको मान्छेमाथि आक्रमण गर्ने बाघ खैरीस्थित होल्डिङ सेन्टरबाट भागेको थियो ।