कानको सुरक्षा कसरी गर्ने ?

काठमाडौं । फाल्गुन १९, आज मार्च ३ अर्थात् विश्व श्रवण दिवस । बहिरोपन र श्रवण हानी कसरी रोक्ने भन्नेबारे चेतना जगाउन र कान, श्रवण हेरचाहलाई विश्वभर प्रवद्र्धन गर्न यो दिवस मनाईंदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको श्रवण दिवसका लागि ‘जीवनभरि सुन्नको लागि सुनाइको हेरचाह गरौँ’ नारा तय गरेको छ ।
श्रवण शक्ति कम हुने समस्या धेरैमा देखिने साझा स्वास्थ्य समस्या हो । श्रवण दिवसका अवसरमा चर्को ध्वनीबाट हुने श्रवण क्षतिलाई रोक्ने प्रण गर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै, श्रवण शक्तिको कमीका कारण आउने स्वास्थ्य समस्याबारे खुलेर छलफल गर्ने वातावरण सिर्जना गर्न मन्त्रालयले जोड दिएको छ ।
कम श्रवण शक्तिका लक्षणहरु
अरूको कुरा नबुझेर बारम्बार कुरा दोहोर्याउन अनुरोध गर्नु, टेलिफोनमा कुरा गर्न गाह्रो हुनु, चराचुरुंगीको आवाज नसुन्नु, कान कराउनु, बोलेको सुन्नु तर नबुझ्नु, अरूसँग कुरा गर्दा ठूलो स्वरले कुरा गर्नु, धेरै हल्ला भएको ठाउँमा कुरा गर्न गाह्रो हुनु, रेडियो सुन्दा, टेलिभिजन हेर्दा चर्को आवाज बनाउनुलगायत कान नसुन्नुको लक्षण हुन् ।