गठबन्धन बैठकमा पाँच विषयमा दुई घण्टा छलफल
काठमाडौं । फाल्गुन २०, आधा घण्टामै टुङ्गिने सत्तारूढ गठबन्धनको बैठकमा बिहीबार भने झण्डै दुई घण्टा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे शुरू भएको बैठक साढे ११ बजे मात्रै सकिएको हो।
आजको बैठकमा एमसीसी सम्झौता सहित आगामी चुनावसम्मका विषयमा छलफल भएको जनाइएको छ। “आज लामो समय गठबन्धनको बैठक बस्यो, यसमा धेरै विषयमा छलफल भएको छ,” बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने।
पाँच दलीय सत्तारूढ गठबन्धनको आजको बैठकमा चार दल मात्रै सहभागी थिए। एमसीसी सम्झौताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाका नेता बैठकमा उपस्थित भएनन्। जनमोर्चाले १६ फागुनमा गठबन्धनबाट अलग्गिएको घोषणा गरेको थियो।
चार दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग गरेकोमा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल लगायत सबै नेतालाई धन्यवाद दिएका थिए। “संसद्बाट एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग गर्ने सबै दल र नेताहरूलाई प्रधानमन्त्रीले धन्यवाद दिनुभएको छ,” सरकारका प्रवक्ता कार्कीले भने।
त्यसपछि बैठकमा एमसीसी सम्झौता कार्यान्वयन, आगामी स्थानीय चुनाव, संसद्को अवरोध हटाउने, संवैधानिक निकायको नियुक्ति लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको मन्त्री कार्कीले जानकारी दिए।
एमसीसी सम्झौता कार्यान्वयन गर्न पनि वातावरण बनाउनका लागि प्रधानमन्त्री देउवाले आग्रह गरेका थिए। यसलाई अब कार्यान्वयनमा लग्नुपर्ने विषयमा गठबन्धनको बैठकमा छलफल भएको छ। “यसलाई मेलम्ची बनाउन सक्दैनौं। पाँच वर्षमा काम पूरा भएन भने पैसा फिर्ता जान्छ,” उनले भने, “त्यसैले यसलाई पाँच वर्षमा सम्पन्न गर्न कार्यान्वयनको वातावरण बनाउन सबै एक ठाउँमा उभिनु जरुरी छ।”
त्यस्तै, आगामी स्थानीय चुनावमा मिलेर जाने विषयमा छलफल भएको छ। त्यस सम्बन्धी सोधिएको प्रश्नमा सरकारका प्रवक्ता कार्कीले भने, “विशेष परिस्थितमा गठबन्धन निर्माण गरेका थियौं। मुलुकलाई राजनीतिक स्थायित्व दिन, कानूनी शासनको प्रत्याभूति गर्न, देशलाई समृद्धिको बाटोमा लग्न गठबन्धन आवश्यक छ। त्यसैले गठबन्धन अगाडि बढ्छ।”
आजको बैठकमा जनमोर्चा सहभागी नभए पनि अर्को पटक आउने उनको भनाइ थियो। एमसीसीमा मात्रै जनमोर्चाको विरोध भएकाले फेरि पाँच दल हुने उनको विश्वास थियो।
त्यस्तै, आजको गठबन्धनको बैठकले संसद्को अवरोध हटाउने प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० लाई आग्रह गर्ने निर्णय गरेको छ। नागरिकता, उड्डयन लगायत विभिन्न जरुरी विधेकय पारित गर्नुपर्ने भएकाले यसका लागि एमालेलाई अवरोध हटाउन आग्रह गरिएको उनले बताए।
यससँगै संवैधानिक निकायमा नियुक्ति लगायत सरकारसँग सम्बन्धित विषयमा पनि छलफल भएको मन्त्री कार्कीले बताए। यी विषयमा भने मन्त्रिपरिषद् निर्णय गरेपछि मात्रै सार्वजनिक हुने उनको भनाइ थियो।