बाँकेमा ब्राउन सुगर र पेस्तोलसहित ३ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २३, बाँकेमा प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खजुरा गाउँपालिका १ बहादुरपुरका २५ वर्षीय रविन्द्र थापा, खजुरा २ बस्ने २७ वर्षीय मनिष थापा, र नेपालगन्ज उपमहानगरपालिका १३ भृकुटीनगर बस्ने २८ वर्षीय सुरेश रोका मगर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार आइतबार करिब साढे ६ बजेतिर रबिन्द्रले आफ्नै घरमा लागू औषध ब्राउनसुगर कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथमा ९० ग्राम ब्राउनसुगर बरामद गरेको थियो।

त्यस्तै प्रहरीले रविन्द्रको सुत्ने कोठामा चेक जाँच गर्दा कालो कलरको म्यागजिन नभएको अटोमेटिक पेस्तोल फेला परेको हो। साथै उनीसँग कारोबार गर्ने मनिष र सुरेशलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिए। पक्राउ परेका तिनै जनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित : 7 March, 2022

प्रतिक्रिया दिनुहोस्