विराटनगरमा महानगर आवास योजनाबाट मुसहर परिवारलाई ३२ घर हस्तान्तरण

काठमाडौं । फाल्गुन २४, एकैनासले लहरै घर निर्माण गरिएका छन् । इँटा जडान गरी माथि टिनले छाएको छ । सिकुवा र आँगन ढलान गरेर पक्की बनाइएको छ ।
एक समान र उही आकारका घरले बस्ती निकै व्यवस्थित देखिन्छ । सफा आँगन, केटाकेटी खेल्ने फराकिलो ठाउँ अनि व्यवस्थित शौचालयको पनि प्रबन्ध भएको छ ।
सामूहिक बस्ती विकास गर्ने उद्देश्यले विराटनगर–१९ धरमपुरामा निर्माण भएका नयाँ संरचनामा ३२ परिवारले आश्रय पाएका छन् । त्यहाँ बसोबास गर्ने सबै अल्पसंख्यक मुसहर ९ऋषिदेव० समुदायका मानिस छन् ।
‘महानगर आवास’ योजनाअन्तर्गत विपन्न मुसहर समुदायका लागि विराटनगर महानगरपालिकाले बस्ती निमार्ण गरी समुदायमा हस्तान्तरण गरेको हो । स्थानीयवासीका अनुसार नयाँ घरमा सरेपछि अब सिंघीया खोलाको बाढीले उठिबास लगाउने हो कि भन्ने रत्तिभर पीर छैन ।
‘नयाँ बस्तीमा सरेपछि त चैनको निद्रा पर्न थालेको छ,’ स्थानीय कविता ऋषिदेवले भनिन्, ‘छोराछोरी धुलोहिलोमा डुब्लान भन्ने पीर पनि अब हटेको छ ।’
एक परिवारका लागि २ सुत्ने कोठा, एक भान्सा घर र शौचालय सहितको व्यवस्थित घर आफूहरूले प्राप्त गरेको ऋषिदेवले सुनाए । विराटनगर महानगरपालिकाले बस्तीमा नाला, बाटो बनाई खानेपानीका लागि ट्युबेल जडान गरिदिएको छ । यही भौतिक संरचनामा क्रृषिदेव परिवारको दिनचर्या चलेको छ ।
लालसे ऋषिदेवलाई खोला किनारको झुप्रोबाट कहिल्यै पार नपाइएला कि भन्ने ठूलो चिन्ता थियो । सिंघीयाको बाढीले घर बगाएपछि उनी निकै लामो समय दाताले दिएको पालमुनि ओतिएका थिए तर उनलाई अब न खोला न बाढीले अत्यास पार्ने हो कि भन्ने पीर छ ।
‘हाम्रो त दिन फिरेको छ । अहिले पक्की घरमा बस्न पाइएको छ,’ उनले भने, ‘हामीजस्ता धेरै गरीबसँग अहिले आफ्नै घर छ ।’
महानगरले घर बनाइदिएपछि बुढेसकालमा आफूलाई सन्तोष मिलेको लालसेले सुनाए ।
कविता र लालसेजस्तै मुनिश्री ऋषिदेवका दिन पनि फिरेका छन् । पतिसँगै दैनिक ज्यालादारीमा श्रम गर्छिन् । दैनिक हुने कमाइले परिवार चलेको छ । छोराछोरीलाई पनि नजिकैको आधारभूत विद्यालयमा पढाउन सजिलो भएको छ ।