उपराष्ट्रपतिको भित्तोमा अझै चीन विरोधी प्रचार

काठमाडौं । फाल्गुन २६, उपराष्ट्रपति नन्दबहादुर पुनको सरकारी निवास बाहिर मित्रराष्ट्र चीनविरोधी नारा लेखिएको स्थायी प्रकृतिको पर्चा टाँसिएको छ ।
लैनचौरस्थित निवासको बाहिर पर्खालमा चीनविरोधी नारा लेखिएको रातो टिनको पाता किला ठोकेर टाँसिएको हो ।
उच्च सुरक्षा प्रदान गरिएको स्थानमा विवादास्पद नारा किला ठोकेर बोर्ड ठोक्नुलाई रहस्यमय ठानिएको छ । स्रोत भन्छ, ‘भित्तोसँगैको बिजुलीको पोलमा टाँगिएको हो ।’
रातो बोर्डमा सेतो अक्षरले लेखिएको नारामा भनिएको छ, ‘विस्तारवादी चीन, नेपाली अतिक्रमित भूमि फिर्ता गर । फिर्ता गर ।’ बोर्ड कसले र कुन बेला टाँस्यो भन्नेबारे अहिलेसम्म सुरक्षा निकायले कुनै भेउ नपाएको बताइन्छ ।
आगामी महिना हुन लागेको चीनका विदेशमन्त्रीको भ्रमणअघि यस्ता विवादास्पद विषयलाई उछाल्न एकथरि समूह लागिपरेको कूटनीतिक स्रोतको दाबी छ ।