युक्रेनमा रुसका तर्फबाट लड्न ४० हजार भन्दाबढी सिरियाली लडाकु तयार

काठमाडौं । चैत १, युक्रेनमा जारी युद्धमा रुसलाई साथ दिनका लागि ४० हजार भन्दा बढी सिरियाका अनुभवी लडाकुले आफ्नो नाम दर्ता गराएको दाबी गरिएको छ ।
सिरियाको गैरसरकारी समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स ९एसओएचआर० का अनुसार रुसका लागि युक्रेनमा युद्ध लड्न चाहने सिरियाली लडाकुको संख्या ४० हजार भन्दा माथि पुगेको हो ।
समूहले सोमबार दिएको जानकारी अनुसार अहिलेसम्म कुनै पनि सिरियाली लडाकुले युक्रेन युद्धमा समेल हुनका लागि देश भने छाडेका छैनन् ।
रुसले युक्रेन युद्धमा आफ्नो पक्षबाट लड्नका लागि अनुभवी सियाली लडाकुलाई भर्ति गर्ने प्रक्रिया सुरु गरेपछि इच्छुकको संख्या बढेको हो ।
भर्तिका लागि प्रमुख प्राथमिकता दिइएका मध्ये अल–कतार्जी मिलिसिया समूहका सदस्य छन्, जसमाथि संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ । उनीहरुले बसर अल–अशद तथा इस्लामिक स्टेट इराक र सिरियाबीच मध्यस्थताको काम गरेको आरोप छ ।
रुसले यसरी भर्ति गर्ने सिरियाली लडाकुलाई १५ सयदेखि २५ सय अमेरिकी डलरसम्म दिने प्रस्ताव गरेको दाबी छ ।
गएको हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सुरक्षा परिषदको बैठकमा युक्रेनमा आफ्नो पक्षबाट लड्न चाहने विदेशलाई स्वागत गर्न भनेका थिए ।
यसैबीच युक्रेनको रक्षा मन्त्रालयले रुसले एक हजार भन्दा बढी सिरियाली लडाकुलाई भर्ति गरिसकेको दाबी गरेको छ ।
रक्षा मन्त्रालयलाई उद्धृत गर्दै युक्रेनको स्वतन्त्र सञ्चारमाध्यम द किएभ इन्डिपेन्डेन्टले दिएको जानकारी अनुसार रुसले एक हजार भन्दा बढी सिरियालीलाई भर्ति गरिकेको छ र त्यसमध्ये करिब ४०० लडाकु रुस पुगेका छन् ।