हुम्लामा फेरि देखियो कोरोना, संक्रमित फरार

सहयात्रा टिभी

काठमाडौं । चैत २, दुई महिना अगाडि कोरोना संक्रमणमुक्त भएको हुम्लामा पुनः कोरोना संक्रमण देखिएको छ।

मंगलबार बेलुका एन्टिजिन परीक्षण गर्दा दुईजनामा कोरोना संक्रमण देखिएको हो। जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले मंगलबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताइन्।

दुईमध्ये एकजनामा स्वास्थ्य जटिल देखिएको र उनको एचडीयुमा उपचार भइरहेको उनले जानकारी दिइन्। उनका अनुसार संक्रमित सिमकोट गाउँपालिका–४ को हिल्दुम गाउँका ५९ वर्षीय पुरुष हुन्।

अर्का पुरुष सर्केगार्ड गाउँपालिकाका रहेका छन्। कोरोना संक्रमण पुष्टि भएपछि उनी भागेको अस्पतालले जनाएको छ।
गत माघ ९ गते तेस्रो लहरअन्तर्गत हुम्लामा सिमकोट गाउँपालिकाका स्वास्थ्यकर्मीसहित नौजनामा पहिलोपटक कोरोना देखिएको थियो। सो अवधिमा १६ जनामा कोरोना संक्रमण भएको थियो।

माघ २४ गतेबाट हुम्लामा कोरोना मुक्त भएको थियो। गत असोजपछि माघ ९ गतेसम्म जिल्लामा कोरोना संक्रमण शून्य रहेको थियो। कोरोनाको दोस्रो लहरमा तीन हजार १३० जनाको परीक्षण गर्दा ३९९ जनामा संक्रमण पुष्टि भएको थियो। तीन जनालाई हेलिकोप्टरमार्फत जिल्ला बाहिर उपचार गर्न लगिएको थियो। सो अवधिमा पाँच जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो।

कोरोना पुनः देखिएकोले सबैलाई सचेत रहन स्वास्थ्य सेवा कार्यालयले आग्रह गरेको छ। रुघाखोकीका बिरामी बढी रहेकाले कोरोना सक्रमण बढ्न सक्ने चेतावनी कार्यालयले दिएको छ।

कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले पुनः कोरोना देखिएकोले परीक्षणको दायरा बढाउनुपर्ने माग सबैतिरबाट आएको जानकारी दिए।

प्रकाशित : 16 March, 2022

प्रतिक्रिया दिनुहोस्