गठबन्धनको बारेमा अहिले नै जनतालाई भन्न जरुरी छैन कांग्रेसःप्रवक्ता महत

सहयात्रा टिभी

काठमाडौं । चैत ६,नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा महतले भने, गठबन्धनको सम्भावनालाई नकार्न सकिँदैन ।

यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ । गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलको उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुन्छ । प्रस्ताव कस्तो आउँछ त्यसमा भरपर्छ । विनविन पोजिसनमा हुन सक्छ ।

उनले हरेक पार्टीको लक्ष्य निर्वाचनमा सकेसम्म बढी सिट जित्ने भएकोले गठबन्धन गर्दा धेरै सिट जित्ने देखियो भने गठबन्धन हुने र त्यसको मोडेल केन्द्रले निर्धारण गर्ने पनि बताए ।

महतले कांग्रेसका कार्यकर्तालाई अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा नअल्झन नहुने आग्रह गरे । गठबन्धनको बारेमा अहिल्यै जनतालाई भन्न जरुरी छैन । हामी सत्यमा, कानुनमा, नागरिक स्वतन्त्रतामा, मानव अधिकारमा, यथार्थमा विश्वास गर्ने, पारदर्शितामा विश्वास गर्ने पार्टी हो । हामीलाई विश्वास गर्नुस् भन्ने हो ।

प्रकाशित : 20 March, 2022

प्रतिक्रिया दिनुहोस्