भारतमा नोभेम्बर २ यता पहिलो पटक बढाइयो पेट्रोलियम पदार्थको भाउ
काठमाडौं । चैत ९, नयाँ दिल्ली भारत भारतमा साढे ४ महीनायता पहिलो पटक पेट्रोलियम पदार्थको भाउ बढेको छ ।
सरकारी तेल कम्पनीहरुले मंगलवार प्रतिलिटर पेट्रोल र डिजेलको भाउ ८० पैसा बढाएका छन् । पछिल्लो मूल्य वृद्धिसँगै दिल्लीमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ९६ रुपया २१ पैसा कायम भएको छ ।
डिजेलको भाउ पनि प्रतिलिटर ८६ रुपया ६७ पैसाबाट बढेर ८७ रुपया ४७ पैसा भएको छ । १३७ दिनसम्म मूल्य संशोधन रोक्का गरेपछि मंगलवार भाउ बढाइएको हो ।
उत्तर प्रदेश र पञ्जाब लगायत राज्यहरुमा विधानसभाको चुनावका कारण नोभेम्बर ४ यता पेट्रोलियम पदार्थको दैनिक मूल्य संशोधन रोकिएको थियो ।
फेब्रअरी २६ मा युक्रेनमाथि रुसले हमला गरेयता अन्तरराष्ट्रि बजारमा कच्चा तेलको भाउ १४ वर्षयताकै उच्च स्तरमा उक्लिएको थियो । भने डलरको तुलनामा भारुको भाउ पनि घटेको थियो ।
तर मूल्य संशोधन रोक्का भएकोले सोको प्रभाव भारतीय जनताहरुमा परेन । सो अवधिमा भारतीय आयल निगमले नेपाल पठाउने पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको थियो ।
यसको प्रभाव स्वरुप नेपाली बजारमा भने पेट्रोल र डिजेलको भाउ यसअघि कहिले नदेखिएको स्तरमा उक्लिएका थिए ।