सुक्खा पहिराले बर्दिवासको चुरे काछवासी त्रासमा

सहयात्रा टिभी

काठमाडौं। चैत ११, बर्दिवास नगरपालिका–१० र ११ मा पर्ने खयरमाराको चुरे काछका बासिन्दा त्रासमा छन् ।

बुधबार राति चुरे काछको तीनतले बस्ती नजिकै पाखामा ठूलो पहिरो गएपछि यहाँका १० भन्दा बढी बस्तीका बासिन्दा निदाउन सकेका छैनन् ।

पहिराले खयरमारा खोला थुनेर हिउँदे बाटोसमेत अवरुद्ध गरेपछि बजारसँगको सम्बन्ध पनि काछवासीको टुटेको छ ।

“के गरम् हजुर, निन्द्रा लाग्दैन, कतिखेर कुन पाखा झर्ने हो भन्ने त्रास भइरहन्छ”, भाङ्ग्रे बस्तीकी सन्तमाया तामाङले भन्नुभयो, “पहिरो गएदेखि बालक नानीहरू काखमा च्यापेर घरै बसिरहेका छौँ ।”

बुधबार मध्यरातपछि बिहीबार उज्यालो हुनअघि०तीनतले पाखामा ठूलो आवाजले पहिरो गएपछि सन्तमायाजस्तै चुरे काखका १० भन्दा बढी पाखा बस्तीका बासिन्दाको कथाव्यथा एउटै बनेको छ ।

“बर्खामा त बाढी आउने, सानातिना पहिरो जाने झेल्दै आएका हौँ, तर अहिले सुक्खायाममा गएको ठूलो पहिराले नसोचेको आपत् आयो”, भालुचौर बस्तीकी ६० वर्षीया सञ्चमाया तामाङ भन्नुहुन्छ, “काछभित्रका सबैजसो घर थुम्का, पाखा र खोल्सा किनारका चौरमा छन्, कतिखेर पुरिन्छौँ पत्तै नपाइने भयो ।” खयरमारा बटजारबाट उत्तरतर्फ चुरे पर्वतीय शृङ्खला छन् ।

यिनै चुरे पहाड काछमा बर्दिबास–१०, ११ का १० भन्दा बढी बस्ती छन् । गर्दीखोला, चनौटे, छोड्के, झ्याउरे, भाङ्ग्रे, पिपलदमार, गुरुङखोला, भालुचौर, बम्जनटार, पूर्वीखोला, सातदिने, शिर, चिसापानी, मासखोला र दोभानसहितका सबै बस्ती चुरे काछका हुन् ।

 

प्रकाशित : 25 March, 2022

प्रतिक्रिया दिनुहोस्