इलाममा बोइलर कुखुराको मासु अभाव

सहयात्रा टिभी

काठमाडौं। चैत १३, इलाममा बोइलर कुखुरा अभाव भएको छ ।

एक सातादेखि बोइलर कुखुराको मासु अभाव भएको हो । केही महिनाअघि जाडो भएकै कारण इलाममा कुखुराका चल्ला नआउँदा यो सिजनमा मासु अभाव भएको बताइएको छ ।

दैनिक मासु खरिदका लागि उपभोक्ता आए पनि मासु अभाव भएकै कारण समस्या भएको व्यापारी हरी खड्काले बताए ।

उनका अनुसार केही समय अघिदेखि कम मात्रामा मासु पाइँदै आएको थियो । मासु अभाव भएपछि प्रतिकिलो ५० रुपयाँले दाम समेत बढेको थियो । तर हाल कुखुरा नै अभाव भएको उनको भनाइ छ ।

धेरै किसानले गएका वर्षहरुमा कोभिडका कारण कुखुरा नबिकेका कारण पनि कम चल्ला लगाएका थिए । गएका दुई वर्ष यस सिजनमा कोरोनाको संक्रमण उच्च रहेको थियो । जसका कारण पनि किसान डराएर कम उत्पादन गरेको बताइएको छ ।

यहाँ ब्यवसायिक रुपमा कुखुरा पालन गर्ने किसानहरु कम नै छन् । अन्य पेशा गर्दै कुखुरा पालन गर्ने किसान बढि छन् । तर पनि हिउँदका केही महिना बाहेक इलामले बोइलर कुखुराको माग धान्दै आएको छ ।
बोइलर कुखुरा लोकल कुखुराको तुलनामा कफल्लो हुने गर्दछ । चिसोमा उत्पादन नहुने भएकाले पनि हाल यो समस्या आएको कुखुरा व्यवसायीहरुको भनाइ छ ।

इलाम पहाडी जिल्ला भएका कारण पनि हिउँदमा बढि चिसो भएकै कारण भएका कुखुरा जोगाउन नै समस्या हुने किसानको भनाइ छ ।

चिसो मौसमसँगै गएका वर्ष बढि कोरोना भाइरसको संक्रमण बढेका कारण यसवर्ष उत्पादन कम भएको कुखुरा व्यवसायी दिनेश महतले बताए ।

उनले विगतका वर्षहरुमा यो सिजनमा कम मूल्यमा कुखुरा बेच्नु परेकाले यसवर्ष कम कुखुरा पालन भएको बताए ।

प्रकाशित : 27 March, 2022

प्रतिक्रिया दिनुहोस्