म्यादी प्रहरी भर्ना १६ सयका लागि ५८ सयको आवेदन

काठमाडौं। चैत १३, बाँकेमा म्यादी प्रहरीका लागि ठूलो संख्याले फाराम भरेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले म्यादी प्रहरीका लागि ५ हजार ८०२ जनाले फाराम भरेको जानकारी दिए।
बाँकेमा एक हजार ६८६ जनाको कोटा निर्धारण गरिएको छ।
म्यादी प्रहरी हुन गृहिनीदेखि स्नातकसम्म पढेकाले आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालयमा तँछाडमछाड गरेर उनीहरुले फाराम भरेका छन्। ठूलो भीड भएपछि प्रहरीले टोकन प्रणालीबाट फाराम संकलन गरेको थियो।
चैत्र १५ गतेदेखि म्यादीको छनोट सुरु हुने बाँके प्रहरीले बताएको छ। ‘चैत १३ गते सम्पर्कमा आउनुहुन्छ। १५ गतेदेखि छनोट प्रक्रिया सुरु हुन्छ’, जिप्रका बाँकेका प्रशासन शाखा प्रमुख ईश्वरदेव गिरीले भने, ‘म्यादी हुन गृहिणीदेखि केही स्नातक उत्तीर्णसम्म आएका छन्।’
बेरोजगारी समस्याले गर्दा ठूलो संख्याले करिब दुई महिनाको जागिर खान तँछाडमछाड गरेका छन्। कतिपय प्रहरीमा जागिर खान सकिएन, केही दिनका लागि म्यादी भए पनि प्रहरी होऔँ भन्ने सोचेर आउनेहरु पनि उत्तिकै छन्।