विश्वविद्यालय यात्राका आरोह–अवरोह

काठमाडौं। चैत १५, २०४८ सालमा स्थापित काठमाडौं विश्वविद्यालयले ३०औं वार्षिकोत्सव मनायो। धुलिखेलस्थित आफ्नै खेलकुद मैदानमा रंगीचंगी पाल हालेर तीसौं वार्षिकोत्सव मनाइएको थियो।
आमन्त्रित प्रमुख अतिथि लगायत अन्य सम्मानित व्यक्तित्वको सहभागिताले त्यहाँको माहोल निकै रोचक र रमाइलो बनेको थियो। त्यसमा पनि विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाको सम्बोधन ज्यादै उत्कृष्ट र मार्मिक लाग्यो। उहाँको सम्बोधनले उहाँको शालीन व्यक्तित्वसमेत झल्काएको थियो।
पूर्वनियोजित तालिका अनुसार कार्यक्रम सञ्चालन हुँदै गयो। कार्यक्रमको अन्त्यमा एउटा फोटो सेसन राखिएको रहेछ। जुन भोलिका लागि इतिहास बनेको आभास गरें। संस्थापन उपकुलपति र वर्तमान उपकुलपति सँगै देखिने गरिको त्यो फोटो गरिमामय भएको ठानेर गौरव र खुसी लाग्यो।
समारोहमा पंक्तिकार मेडिकल फ्याकल्टीका डिन डा. राजेन्द्र कोजु र संस्थापक रजिस्टार डा। सिताराम अधिकारीसँगै थियो।
अधिकारीले सोही समयमा मलाई औंल्याएर विश्वविद्यालय स्थापनाको प्रारम्भमा आफूहरूलाई सहयोग गर्ने उहाँ पनि हो भनेर कार्यक्रममा बोल्नुभयो।
उहाँले भन्नुभयो, ‘स्थापना गराउन र प्रारम्भिक सञ्चालनको कोष संकलनमा समेत दाहालजीको सहयोग रह्यो।’ यसो भन्दै गर्दा गौरवान्वित महसुस हुनु स्वाभाविक पनि हो। प्रत्यक्ष होस् वा परोक्ष, साथ सहयोग गर्नेको मूल्यांकन हुँदोरहेछ भन्ने उदाहरण पाएँ।