कोठाभित्र बम विष्फोट हुँदा दुई जना घाइते

काठमाडौं। चैत १५, सुनसरीको इटहरीमा गएराति राती बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् ।
विष्फोटमा परी इटहरी २ हलगडाको नवजागृति टोलमा डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन् ।
थापाको डेरा भित्रै गएराती साढे १० बजे बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये थापाको आँखामा चोट लागेको छ भने गुरुङको शरिरका विभिन्न अंगहरूमा चोट लागेको छ ।
थापाको विराटनगरको आँखा अस्पतालमा उपचार भइरहेको छ भने गुरुङको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
विष्फोट भएको बम सुतली बम भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपालको पर्चा बरामद गरेको छ ।
हिमाल सुरक्षा परिषदको पर्चा सशस्त्र युद्धको घोषणा गरेको संगठन भएको प्रहरीले जनाएको छ ।
फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो ।
‘बिस्फोट कसरी भयो भन्नेबारे अनुसन्धान थालेका छौं,’ डिएसपी खड्काले भने,‘कोठामा बस्ने दुई जना नै घाइते भएकाले उनीहरुको उपचारपछि थप तथ्य खुल्छ ।’