४० लाख डोज ‘सिनोभ्याक’ नेपाल भित्रियो

काठमाडौं। चैत १६, चीन सरकारको सहयोगमा कोभिडविरुद्धको ४० लाख ‘सिनोभ्याक’ खोप नेपाल आएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार शनिबार ३५ लाख र सोमबार पाँच लाख गरी ४० लाख डोज नेपाल ल्याइएको हो ।
यसअघिसम्म चीनबाट भेरोसेल खोप मात्रै ल्याउने गरेकोमा पहिलोपटक ‘सिनोभ्याक’ खोप ल्याइएको हो ।
विश्वका ७० भन्दा बढी देशमा मान्यता पाइसकेको सिनोभ्याक खोप नेपालमा भने पहिलोपटक प्रयोगमा ल्याउन लागिएको हो ।
सिनोभ्याक कम्पनीबाट उत्पादित यो खोपलाई विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले गत वर्ष जुनमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।
तर भारतले भने अहिलेसम्म सिनोभ्याक खोप प्रयोग गर्न अनुमति दिएको छैन । सिनोभ्याक खोप हालसम्म १८ वर्षभन्दा माथि उमेर समूहमा मात्रै प्रयोगमा ल्याउन मिल्ने बताइएको छ । यसको पूर्ण डोजका लागि दुई डोज प्रयोगमा आइरहेको कम्पनीले जनाएको छ ।
दुई साताअघि प्रकाशित एक अध्ययनले सिनोभ्याक खोप बालबालिकामा ३८ प्रतिशत प्रभावकारी देखिएको उल्लेख गरेको थियो । तर, हालसम्म प्रयोगका लागि मान्यता पाएको छैन ।
नेचर स्क्वायर नामक जर्नलमा प्रकाशित अध्ययनले डेल्टा भेरियन्ट फैलिएको समयमा बालबालिकामा ७४.५ प्रतिशत प्रभावकारी देखिए पनि ओमिक्रोन फैलिएपछि प्रभावकारिता घटेको उल्लेख गरेको छ ।
सिनोभ्याक खोप तीनदेखि पाँच वर्ष र ६ देखि १६ वर्ष उमेर समूहमा छुट्टाछुट्टै अध्ययन भइरहेको उत्पादन कम्पनीले जनाएको छ ।
हाल चीनमा ओमिक्रोनका कारण संक्रमण पुनः उकालो लागेको छ । संक्रमणदरका बीच बुस्टर डोजको खपत अत्यधिक भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
पछिल्ला अध्ययनले सिनोभ्याक खोप अस्पताल भर्नादर घटाउन ६४.६ प्रतिशत र गम्भीर बिरामी हुनबाट रोक्न ६९ प्रतिशत प्रभावकारी देखिएको जनाइएको छ ।