लेवनडोवस्कीले पुर्‍याए पोल्यान्डलाई विश्वकपमा

सहयात्रा टिभी

काठमाडौं। चैत १६, रोबर्ट लेवनडोवस्कीले पोल्यान्डलाई लगातार दोस्रोपटक विश्वकपमा छनोट गराएका छन् ।

बायर्न म्युनिखका स्ट्राइकर लेवनडोवस्कीले गोल गरेको दिन मंगलबार राति पोल्यान्डले युरोपियन छनोटको प्लेअफमा स्वीडेनलाई २–० ले हराउँदै विश्वकपमा स्थान बनाएको हो ।

लेवनडोवस्कीले ५०औँ मिनेटमा गरेको पेनाल्टी गोलबाट पोल्यान्डले अग्रता लिएको थियो । पियोट जेलिनस्कीले ७२औँ मिनेटमा अर्को गोल थपेपछि पोल्यान्डले स्वीडेनलाई स्तब्ध बनाउँदै कतारको टिकट पक्का गरेको हो ।

३३ वर्षीय स्ट्राइकर लेवनडोवस्कीका लागि विश्वकप खेल्ने सम्भवतः यो अन्तिम मौका हो । उनले पोल्यान्डबाट १२९ खेलमा ७५ गोल गरिसकेका छन् ।

‘‘खेलअघि हामीले धेरै समस्या भोग्नुपरेको थियो,’’ चोटबाट थलिएको पोल्यान्डका स्ट्राइकर लेवनडोवस्कीले भने, ‘‘हाम्रा धेरै खेलाडी घाइते थिए । म पनि पूर्ण फिट थिइनँ । मेरो घुँडामा चोट लागेको थियो । तर, यसका बाबजुद हामी खुसी मनाउन सफल भएका छौँ । मलाई गर्व लागेको छ ।’’

योसँगै भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले विश्वकप गुमाउने भएका छन् । ४० वर्षीय इब्राहिमोभिच पछिल्लो समय पूर्ण फिट पनि छैनन् । स्वीडेनले गत वर्षको प्लेअफमा भने इटालीलाई हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

 

प्रकाशित : 30 March, 2022

प्रतिक्रिया दिनुहोस्