पोखरामा ‘शिरिषको फूल’को मञ्चन

काठमाडौं। चैत २४, फागुन २७ देखि चैत १२ सम्म काठमाडौंको कीर्तिपुरस्थित ‘कीर्तिपुर रंगमञ्च’मा मञ्चन भएको नाटक ‘शिरिषको फूल’ आजबाट पोखरामा मञ्चन हुँदै छ।
उपन्यासकार पारिजातको उपन्यास ‘शिरिषको फूल’मा आधारित नाटक आजबाट पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरमा मञ्चन हुने भएको हो।
नाटक केदार श्रेष्ठको परिकल्पना तथा अञ्जान प्रदीपको निर्देशनमा बनेको छ।
नाट्य आलेखमा भने चौथो आयाम नाट्य समूहले काम गरेको छ। पोखरामा आजदेखि मञ्चन हुने नाटक चैत २७ गते आइतबारसमम मञ्चन हुनेछ। हरेक दिन साँझ ५ बजे र शनिबार १ बजेपछि नाटकको मञ्चन हुनेछ।
नाटकमा सकमबरीको भूमिकामा समृद्धि नेपाल, सुयोगवीरको भूमिकामा सञ्जय विश्वकर्मा, शिवराजको भूमिकामा हाङ ओ हाङ राई, मुजुराको भूमिकामा सविना गोपाली, सानुको भूमिकामा मञ्जु महर्जन छन्।
नाटक पोखरापछि देशभरका अन्य ठाउँमा पनि मञ्चन गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ। नाटकलाई दमक, बुटवल र नेपालगञ्जलगायतका शहरमा मञ्चन गरिनेछ।