बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

काठमाडौं। चैत २५, नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा म्याग्दीमा २८ हजार बढी बालबालिकालाई लगाइने छ ।
नियमित खोप सेवामा समावेश गरी देशव्यापी रुपमा सञ्चालन हुन लागेको उक्त अभियानको क्रममा म्याग्दीमा १५ महिनादेखि १५ वर्षमुनिका २८ हजार ७१८ जना बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी गराए ।
खोप अभियानबारे बिहीबार आयोजित पत्रकारहरुसँगको अभिमुखीकरण कार्यक्रममा विद्यालय स्तरसम्मै खोपकेन्द्र सञ्चालन गरेर लक्षित उमेरका विद्यालयभित्र र बाहिर रहेका समेत बालबालिकाहरुलाई खोप लगाउनका लागि अभियान सञ्चालन गर्न लागिएको बताए । म्याग्दीमा चैत २५ देखि वैशाख २ गतेसम्ममा खोप लगाइसक्ने गरी अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ ।