मेलम्चीको पानी आजदेखि पथान्तरण

सहयात्रा टिभी

काठमाडौं। चैत २९, मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा मंगलबारदेखि पानी पथान्तरण गरिने भएको छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भए पनि उनी नजाने भएका छन् ।

निर्वाचन आचार संहिता लागू भएसँगै उनी नजाने भएका हुन् । उपत्यकामा मेलम्ची आयोजनाको खानेपानी पथान्तरणको प्रक्रिया सुरु गर्न लागिएको हो ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले उद्घाटन गर्न जाने कार्यक्रम छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार हेडवक्र्स र सुरुङ सफा गर्ने काम सकिएको छ ।

अस्थायी बाँधमार्फत चैत मसान्तसम्ममा मेलम्ची खानेपानी काठमाडौंमा ल्याउने तयारीका साथ फास्ट ट्रयाकमार्फत काम भइरहेको थियो ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मंगलबारदेखि अम्बाथानबाट सुरुङमा पानी हालिने र सो पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा आइपुग्ने बताए ।

अम्बाथान अडिटमा जम्मा भएको थेग्रिनी सफा गर्ने काम सकिएपछि मन्त्रालयले त्यहीँ उद्घाटनको कार्यक्रम राखेको उनको भनाइ छ । आचार्यले मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी मोटरेबल पुल निर्माण भएको जानकारी दिए ।

 

प्रकाशित : 12 April, 2022

प्रतिक्रिया दिनुहोस्